‘अलि अलि पिएपछि’

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारले नृत्य गरेका छन् । अभिनेताद्वय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र निर्माण टिमले यसअघि फिल्ममा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय रहेको छ।

राहुल राईको छायाँकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको फिल्म ‘मिलन’ले निर्वाचन पछि को मितिमा दर्शकको उल्लेख्य उपस्थिति रहनेमा विश्वस्त देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *