नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

काठमाडौं । नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबीच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ, उपसभापति जिम मिलर र क्याम्पस प्रमुख शिशिर उप्रेतीबीच उक्त सम्झौता भएको हो।

‘फिल्म क्याम्पसमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको फिल्म कलेजसँग सम्झौता गरेका हौँ। चलचित्र स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन,’ प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौं।’

दुवै चलचित्र पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदान–प्रदान गर्नेछन्। नेपाल फिल्म क्याम्पसमा स्नातक सकेपछि स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले न्यूयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिमा पढ्न पाउने छन्।

विद्यार्थी एक महिना, तीन महिना र छ महिनासम्मका लागि आउन÷जान सक्नेछन्। नेपालबाट जाने विद्यार्थी न्यूयोर्क एकेडेमी रहेको न्यूयोर्क, लसएञ्जल्स र सिकागोस्थित एकेडेमीमा जानेछन्। अमेरिकाबाट यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन्।

विद्यार्थी आदान–प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि चलचित्रका विविध विषयमा कार्यशाला तथा स्नातक कक्षाको आयोजना गरिने क्याम्पस प्रमुख उप्रेतीले जानकारी दिए।

‘चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड र तराईमा रहेका कथा खोज गर्ने र तिनलाई दृश्यमा जीवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने छ,’ उनले भने, ‘न्यूयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरणमा समेत सघाउनेछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *