प्रज्जवल थापा ।
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललको दुई गोलको मद्दतमा मोहमडन स्पोर्टिङ क्लबले अहमदाबाद र्याकेटलाई ४-१ गोलले पराजित गर्दै आइ लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
आइतबार भएको दोस्रो छनोट खेलमा मोहमडनको जितमा अभिषेकले २ गोल गर्दा शेख फैयाज र विलिस प्लाजाले समान एक एक गोल गरे । अहमदाबादले एक गोल उपहार पायो । खेलमा सुरुवाती अग्रता मोहमडनले लिएको थियो। खेलको १२ औं मिनेटमा नै विलिस प्लाजाको गोलमा मोहमडनले अग्रता लिएको थियो । २० औं मिनेटमा अभिषेकले गोल गर्दै मोहमडनलाई २ -० को अग्रता दिलाएका थिए। पहिलो हाफको ४४ औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गरेपछि मोहमडन सजिलो स्थितिमा पुगेको थियो ।
खेलको ५५ औं मिनेटमा रहमानले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल ३-१ स्थितिमा आएको थियो। त्यसपछि कुनै गोल गर्न नसक्दा अहमदाबाद खेलमा फर्किन सकेन । ८८ औं मिनेटमा फयाजले गोल गर्दै मोहम्मेदनलाई ४-१ को जित दिलाए ।
नेपाली यू २३ टिममा सदस्य राजेश परियारले दोस्रो हाफको ८४ औं मिनेटमा मैदान प्रवेश गर्दै अहमदाबादको लागि डेब्यु गरे । जितसँगै मोहमडन स्पोर्टिङ क्लब दुई खेलमा ६ अङ्कको साथ शीर्ष स्थानमा उक्लिएको छ।
