सोलुखुम्बु । पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् ।
पर्यटकीय सिजनको मध्य भएकाले फर्कने पर्यटकको सङ्ख्या बढी भएको नेपाल नागरिक उड्डयन कार्यालय, लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिए । उनका अनुसार दैनिक तारा एयर, सीता एयर र समिट एयरलाइन्सले उडान भर्ने गरेका छन् ।
हवाईजहाज र हेलिकोप्टरबाट गरी दैनिक एक हजार हाराहारीमा विदेशी तथा स्वदेशी पर्यटक लुक्लामा आहोरदोहोर गर्ने उनले बताए।
यस वर्षदेखि रामेछाप विमानस्थलबाट उडान गर्न थालेपछि सहज भएकाले पनि उडान धेरै भइरहेको प्रमुख अछामीले बताए। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा ट्राफिकका कारण उडान र अवतरणमा समय लाग्ने हुँदा सहज उडान गर्न सकिएको थिएन ।
असोजदेखि सुरु भएको यो सिजन कात्तिकको अन्त्यसम्म चल्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । यो मौसममा हरेक वर्ष लुक्ला विमानस्थलमा बढी उडान हुने गर्छ । सिजनका बेला पर्यटकीय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर एयरलाइन्सले उडान गर्ने भएकाले जिल्लाका अन्य विमानस्थलमा भने उडान कम हुने गरेको छ ।
सोलुखुम्बु जिल्लाका चारवटा विमानस्थलमध्ये स्याङ्बोचे विमानस्थल र काँगेलडाँडा विमानस्थल बन्द छन् भने फाप्लु विमानस्थलमा फाटफुट उडान हुने गरेको छ । गोरखापत्र दैनिकबाट