दार्चुलाबाट सुरु हुँदै एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उम्मेदवारी दर्तापछि घरदैलो गरिरहेका नेताहरूले अब खुला सभाको कार्यक्रम पनि बनाएका छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले १८ गते दार्चुलाको खलंगामा पहिलो चुनावी सभा गर्ने भएको छ। ओलीले दार्चुलासँगै कैलाली, कञ्चनपुरलगायत जिल्लामा हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्। एमालेले राष्ट्रियतालाई चुनावी मुद्दा बनाएको छ। उसले पहिलो चुनावी सभा दार्चुलामा राख्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागसमेत समेटेर नेपालको चुच्चे नक्सा प्रकाशन गरेका थिए। नक्सामा पछिल्लो पटक समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतसँग कूटनीतिक पहल गरी फिर्ता गर्न एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने नेताहरूले बताउँदै आएका छन्। सुदूरपश्चिमको दार्चुलामा पहिलो चुनावी सभा राखेर त्यहाँबाट यो विषयलाई उठाउने एमाले रणनीति छ।

‘१८ गते बिहान ११ बजे दार्चुलामा हुने सभालाई सम्बोधन गर्न ओली हेलिकोप्टरबाट त्यहाँ जानुहुनेछ’, प्रचार विभाग उपप्रमुख रिजालले भने। रिजालका अनुसार त्यसै दिन उनले सुदूरपश्चिमका अन्य दुई जिल्लामा हुने सभालाई पनि सम्बोधन गर्नेछन्। ती जिल्लाको कार्यक्रम भने तय भइसकेको छैन।

तीन दिनअघि मात्रै महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा भारतीय पक्षले बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका २ दुम्लिङका नौ वर्षीय पवन महराको मृत्यु भएको घटनालाई लिएर एमालेले आपत्ति जनाइसकेको छ।

सभामा एमालेले यो विषयलाई पनि प्राथमिकताका साथ उठाउने बताइएको छ। ‘सुदूरपश्चिममा एमालेको संगठन केही कमजोरजस्तो भएको र स्थानीय नेताहरूले पनि पार्टी अध्यक्षको माग गरेकाले पहिलो सभा दार्चुलामा हुन लागेको हो,’ एमालेका एक नेताले भने।

ती नेताका अनुसार एमालेले जनमत आफ्नो पक्षमा ल्याउन अध्यक्ष ओलीले सम्बोधन गर्नेगरी चुनावी सभा गर्न लागेको हो। भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ जेठ ७ गते नेपालको चुच्चे नक्सा प्रकाशन गरेको थियो। यो विषयलाई चुनावी अजेन्डा बनाउन एमालेले पहिलो चुनावी सभा दार्चुलामा राखेको एमाले नेताहरूले बताएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *