वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु । सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताए । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भने, “गत आवको पहिलो चौमासिकमा रु । पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु । पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु । पाँच करोड ७७ लाख ५८ हजार वितरण भएको हो ।”

पहिलो चौमासिकमा छ हजार ३५९, दोस्रोमा छ हजार ३७० र तेस्रोमा छ हजार ४५४ जनालाई भत्ता वितरण गरिएको हो । गत आर्थिक वर्षमा कूल १९ हजार १८३ जनाले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन कायम रहेको संख्याभन्दा कमले मात्रै भत्ता बुझ्ने गरेका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।

नपामा ज्येष्ठ नागरिकतर्फ १० हजार ६६० मध्ये १० हजार ४९४ जनाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको अधिकृत अर्यालले बताए । उनका अनुसार असहाय एकल महिला तथा विधवातर्फ ५ हजार ७८८ मध्ये ५ हजार ३९३, अति अशक्त अपाङ्गता ‘ख’ वर्गको ७१७ मध्ये ६६७, दलित बालबालिकातर्फ २ हजार २५४ रहेकोमा २ हजार १२८ र पूर्ण अपाङ्गता ‘क’ वर्गतर्फ ३५६ मध्ये ३४१ जनालाई भत्ता वितरण गरिएको हो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणतर्फ सबैभन्दा धेरै ज्येष्ठ नागरिकको रहेको छ । ज्येष्ठ नागरिकलाई रु । एघार करोड ६३ लाख ६७ हजार २००, असहाय एकल महिला, विधवालाई रु । चार करोड ३० लाख ८७ हजार ४००, अति अशक्त अपाङ्गता भएको ‘ख’ वर्गकालाई रु । ५२ लाख १९ हजार ८००, दलित बालबालिकालाई रु । ३३ लाख ७८ हजार र पूर्ण अपाङ्गता भएका ‘क’ वर्गकालाई रु । ४० लाख ९२ हजार वितरण गरिएको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *