काठमाडौ। देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ। उक्त निर्देशिका कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ।
सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाबीच विद्युतीय माध्यमबाट समन्वय कायम राखी सूचना व्यवस्थापन गर्ने बताइएको छ। यसबाट तीनै तहका शैक्षिक विवरणको प्राप्ति तथा व्यवस्थापन गरेर शैक्षिक गुणस्तरको सुनिश्चितता गरी सुशासन कायम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।