पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज एथलेटिक्सको पाँच स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक–एक स्वर्ण पदक हात पारेका छन् । पोखरा रङ्गशालामा भएको महिला एक सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारूले स्वर्ण पदक प्राप्त गरिन् ।
हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन् । यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगीरतीकुमारी थारूले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जितिन् ।
एक सय १० मिटर हर्डल्स : चौधरीलाई स्वर्ण
यसैगरी एक सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए । चौधरीले निर्धारित दूरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारूले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते ।
डिसकस थ्रो : ओली र अधिकारी विजेता
एथ्लेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कास्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी सङ्गीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन् ।
तीन हजार मिटर स्टिपल चेज : दुर्गालाई कीर्तिमानसहित स्वर्ण
कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए ।
सो स्पर्धामा एपिएफका अजितकुमार यादवले नौ मिनेट २१ः१० सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की नौ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जिते ।