बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाका धनसिंह परियारले स्वर्णपदक हात पारेका छन् ।
प्रतियोगिताको पहिलो दिन नीलो बेल्टतर्फ भएको नौ बाउटमा लुम्बिनी प्रदेशका सफल परियारले स्वर्ण पदक जितेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिए ।
उनका अनुसार एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा बाँकी खेल आइतबारदेखि सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् ।
आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।