पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको खेलमा लुम्बिनी प्रदेशलाई ९७ रनले पराजीत गर्दै पुलिस क्लब समूह’बी’को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
जीतको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमै १५ रनमा समेटियो । लुम्बिनीको लागि सरस्वती जीएमले ६ र आश्मा पुलामी मगरले ५ रन बनाइन् । लुम्बिनीका ७ ब्याट्सम्यान खाता खोल्न नसकी पभिलिएन फर्किए ।
लुम्बिनीलाई सस्तैमा समेट्न पुलिसकि इश्वरी विष्टले ४ ओभरमा २ मेडन राख्दै २ रन दिएर ४ विकेट लिँदा हिरामाय रोए र रुविना क्षेत्रीले २-२ विकेट हात पारे । सबनम राईको नाममा एक विकेट रह्यो ।
यसअघि पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । पुलिसको लागि कविता जोशीले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाउँदा सम्झना खड्काले २९ र अप्सरी बेगमले १० रनको योगदान गरिन् ।
लुम्बिनीको लागि सुस्मिता भुषाल र मनिषा रानाले दुई-दुई विकेट लिँदा मधु डिसी र कमला जीएमले समान १-१ विकेट लिए ।
जीतसँगै ३ खेलबाट ६ अंक जोडेको पुलिस समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्दा ३ अंक जोडेको लुम्बिनी उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।