अघिल्लो संसद्का आधाभन्दा बढी सदस्य उम्मेदवार हुनबाट वञ्चित

काठमाडौं। २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका विभिन्न राजनीतिक दलका आधाभन्दा बढी नेता नयाँ गठन हुने प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवार हुनबाट वञ्चित भएका छन्। समानुपातिक सूचीबाट यसअघि सांसद बनेकालाई पुनः सोही सूचीबाट सांसद नबनाउने नीति दलहरूले लिँदा धेरै नेता दोहोरिनबाट वञ्चित भएका हुन्।

समानुपातिकतर्फबाट संसद् भएकालाई नदोहोर्‍याउने मात्र होइन, प्रत्यक्षतर्फ पनि प्रमुख राजनीतिक दलहरूले विभिन्न घटकसँग चुनावी तालमेल गरेका छन्। त्यसले गर्दा प्रत्यक्षतर्फ उम्मेदवार हुने अवसर पनि खुम्चिँदा निवर्तमान सांसदहरू आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनबाटै रोकिएका छन्। अर्थात् नयाँ प्रतिनिधिसभामा उनीहरूका लागि ढोका नै बन्द भएको छ।

प्रतिनिधिसभाका केही निवर्तमान सांसदले आफ्नो स्थान सुरक्षित गर्न प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन्। समानुपातिक र प्रत्यक्ष दुवै सूचीमा परेका निवर्तमान सांसदहरू कति जना मंसिर ४ मा हुने निर्वाचनमा जनताको रोजाइमा पर्छन् भन्ने पनि प्रतीक्षाकै विषय छ।

नेपाली कांग्रेसका ४९ नेता आगामी निर्वाचनबाट पुनः सोही जिम्मेवारीमा फर्कन नपाउने भएका छन्। समानुपातिकतर्फको सूचीबाट यसअघि प्रतिनिधिसभा सदस्यमा नदोहोर्‍याउने नीति कांग्रेसले लिएपछि ४९ नेता फेरि उक्त भूमिकामा नदेखिने भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *