देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजी माग

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापासहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सोमबार डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा एउटा र मतदाता नामावलीमा अर्को भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा विसं २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा विसं २००२ जेठ ३१ गते उल्लेख गरिएको छ। डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न मंगलबारसम्म समय दिइएको छ।

त्यस्तै, सोमबार निर्वाचन आयोगमा कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी दर्ता भएको छ। ललितानिवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न काठमाडौं–७ का विवेक अधिकारीले आयोगमा उजुरी दिएका हुन्। गच्छदारले पुनः निर्वाचन लड्नुलाई जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका थिए। नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसले गठबन्धनबाट प्रतिनिधिसभातर्फ चितवन–१ बाट उठाएको उम्मेदवार विश्वनाथ पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा बहाल रहेका पौडेलको उम्मेदवारी खारेजीको माग गर्दै उनले उजुरी दिएका हुन्। नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौं–४ का नेपाली कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरूको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियमविपरीत मनोनयन गरेको दावी गर्दै उम्मेदवारी खारेजीको लागि उजुरी दर्ता गराएका थिए। त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले आयोगले तोकेबमोजिम कानुनी प्रक्रिया पूरा नगरी उम्मेदवारी पेस गरेको दावी गर्दै मनोनयन खारेजीको लागि उजुरी दिएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *