‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने

काठमाडौं । कार्तिक ११ देखि विश्वव्यापी रिलिज हुन लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, दक्षिणकोरिया र मध्यपूर्वका देशहरुमा एक साथ रिलिज हुँदैछ ।

यी मध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग रेगुलर शोको चाँजोपाँजो मिलेको छ । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् । पाँच सदस्य मिलेर संचालनमा ल्याएको एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शो र एकै सर्भरमार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

निर्देशक भट्टराईका अघिल्ला सिनेमाले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए । अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका सिनेमाले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए ।

रेगुलर शोमा सिनेमा देखाउने भएपछि आफूले वितरक कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए । अमेरिकामा नेपाल रिलिजकै दिन ३० शोको हारहारीमा सिनेमा प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्रि भएको हो ।

सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा÷रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *