काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताब आलमको नाम सिफारिस गरेको छ । जिउँदो मानिसलाई इँटा भट्टामा हालेर मारेको आरोपमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलमको नाम सिफारिस भएको हो । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट आलमको मात्र एकल नाम सिफारिस भएको क्षेत्रीय सभापति शेख फैजुल्लाहले जानकारी दिएका छन् । क्षेत्रीय कमिटीको बैठकमा आलमको एकल नाम आएकाले सिफारिसको निर्णय भएको उनले बताए । उनको नाममा कसैले विरोध, प्रतिवाद नगरेको उनको भनाई थियो । आलममाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ । आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।
आफूलाई पूरानो प्रजातान्त्रिक पार्टी भनेर चिनाउने कांग्रेसको यो निर्णयपछि सर्वत्र आलोचना भएको छ । यस्तो जघन्य अपराध गरेको आरोपमा थुनामा रहेका व्यक्तिलाई किन फेरि सांसद बनाउन त्यसमा पनि एकल नाम सिफारिस गरियो भन्ने विषय अचम्मको छ । कांग्रेसको यो निर्णयपछि एकजना सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्,‘यस्तो ज्यानमारालाई चुनावको टिकट सिफारिस गर्ने अरू अझ कस्ता कस्ता ज्यानमारा र अपराधी काङ्ग्रेसमा सामेल रहेछन् जनताले बुझिरहेका छन् । जनताले देखाउँछन् अबको चुनावमा ।’
कांग्रेसको यो निर्णय सुनेर साहित्यकार नयनराज पाण्डे पनि अचम्मित भएछन् । शुक्रबार लेखक रामलाल जोशीको पुस्तक विमोचन कार्यक्रममा साहित्यकार पाण्डेले ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भनेर कांग्रेस महामन्त्री गगन थापाको ध्यानाकर्षण गराए । पाण्डेको व्यंग्यपछि महामन्त्री थापाले आलम कुनै हालतमा उम्मेदवार नबन्ने बताए । उनले भने, ‘नयनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु ।’
गगन थापाले त भने आलम उम्मेदवार हुँदैनन् । तर गगन कांग्रेसको महामन्त्री हुन् । पार्टी सभापति त शेरबहादुर देउवा हुन् । अब यो प्रकरणमा गगनहरुले आलमलाई उम्मेदवार बन्नबाट रोक्न सक्लान कि नसक्लान् केही दिन कुर्नैपर्छ त्यसका लागि ।
अहिले सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर रस्साकस्सी चलिरहेको छ । कांग्रेसले एक सय सिटको दाबी गरिरहेको खबर सार्वजनिक भइरहेका छन् । माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरु कांग्रेसका कारण कुरा अड्किएको बताउँदै आएका छन् । आलम जस्तालार्ई फेरि टिकट दिन कांग्रेसले धेरै सिटको दाबी गरेको हो ? यदि कांग्रेस प्रजातान्त्रिक पार्टी हो भने आलम जस्ता जघन्य अपराधको अभियोग लागेका व्यक्तिलाई उम्मेदवार सिफारिस किन गर्छ ? सिफारिस गर्ने क्षेत्रीय कमिटीलाई तत्काल कारबाही गर्नुपर्यो नि । कस्तो स्कूलिङ हो कांग्रेसको ? जिउँदो मान्छेलाई इँट्टा भट्टामा जलाउने व्यक्तिलाई टिकटका लागि सिफारिस गर्नु हुँदैन भन्ने ज्ञान कांग्रेसीहरुमा नभएकै हो त ? कि सत्तामा भएकाले अपराधीलाई संरक्षण गर्न खोजेको हो ?
