फेरि एकपटक रोनाल्डो भर्सेस मेस्सी

प्रज्जवल थापा ।

विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी क्रिस्ट्यानो रोनाल्डो र लियोनल मेस्सी फेरि एक पटक भिड्ने भएका छन् । बुधबार स्विजरल्यान्डमा सम्पन च्याम्पियन्स लिगको ड्रमा युभेन्टस र बार्सिलोना एउटै समुहमा परेपछि यी दुई खेलाडीको भेट पक्का भएको हो ।

बार्सिलोना र युभेन्टस एउटै समूहमा परेपछि अब मेस्सी र रोनाल्डोको भेट च्याम्पियन्स लिगको समूह चरणमा हुनेछ । यी दुई खेलाडीले गएको १२ वर्षदेखि विश्व फूटबलमा एकछत्र राज गरिराखेका छन् । समूह जिमा बार्सिलोना, युभेन्टस, डिनामो किएभ र फेरेन्साव्रोसी रहेका छन् । सबै टोलीले होम र अवेको आधारमा एकअर्कासित दुई दुई खेल खेल्नेछन्।

बार्सिलोनाका स्टार लियोनल मेस्सी र पूर्व रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेडका फरवार्ड क्रिस्ट्यानो रोनान्डोले हालसम्म कुल ११ बेलन डर जितेका छन् भने सबै प्रतियोगितामा गरि ३५ पटक आमनेसामने भएका छन् । त्यसमा मेस्सीले २२ गोल गर्दै १६ खेल जितेका छन् भने रोनाल्डोले १९ गोल गर्दै १० खेल जितेका छन् ।

तर क्रिस्ट्यानो रोनाल्डोले ५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा मेस्सीले चार पटक उपाधि जितेका छन् । रोनाल्डो च्याम्पियन्स लिग इतिहासका सार्वधिक गोलकर्ता पनि हुन् । उनले हालसम्म १३० गोल गरेका छन् भने मेस्सीले ११५ गोल गरेका छन् ।

हालसम्म यी दुई खेलाडी च्याम्पियन्स लिगमा पाँच पटक भिडेका छन् । त्यसमा २ खेल मेस्सीले आफ्नो पोल्टामा पारेका छन् भने १ खेल रोनाल्डोले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पाँच च्याम्पियन्स लिगको नजिता
• बार्सिलोना ०-० म्यान्चेस्टर युनाइटेड (२००७-०८ सेमिफाइनल पहिलो लेग)
• म्यान्चेस्टर युनाइटेड १-० बार्सिलोना (२००७-०८ सेमिफाइनल दोस्रो लेग)
• बार्सिलोना २-० म्यान्चेस्टर युनाइटेड (२००८-०९ फाइनल)
• रियल म्याड्रिड ०-२ बार्सिलोना (२०१०-११ सेमिफाइनल पहिलो लेग)
• बार्सिलोना १-१ रियल म्याड्रिड (२०१०-११ सेमिफाइनल दोस्रो लेग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *