खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद २० हजारका साथमा सम्मानपत्र प्रदान गरे ।
नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहनुभएका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहनुभएको वडाध्यक्ष राईले बताए । उनी यो उमेरमा पनि क्रियाशील छन । उनलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन”, उने भने –नृत्यकर्म आफैँ गर्नुहुन्छ । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्छन ।
विसं १९७५ वैशाख १५ गते जन्मिएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् ।
नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगरप्रमुख रिजालले जानकारी दिए ।