न्यायाधीशमा २७७ को आवेदन

काठमाडौं । उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति प्रक्रियाका लागि २७७ जनाले आवेदन दिएका छन्। साउन १० गतेको न्याय परिषद्को निर्णयअनुसार साउन ११ गतेबाट १० दिनको समयसीमा दिएर आवेदन आह्वान भएको थियो। तोकिएको समयमा जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी तथा कानुन व्यवसायी तथा अन्य समूहबाट २७७ जनाको आवेदन गरेको परिषद्ले जनाएको छ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीले अब परिषद्ले आवेदकको सर्टलिस्ट तयार पार्ने बताए। उनले भने, “आवेदन दिनेको विवरण तयार पारिरहेका छौँ। अब परिषद्ले सर्टलिस्ट बनाउँछौँ। त्यो विवरण सार्वजनिक रूपमा प्रकाशन हुनेछ।”

परिषद्का अनुसार कानुन व्यवसायीबाट सबैभन्दा बढी आवेदन परेको छ, जसमा १६१ जना छन्। आवेदकमध्ये महिला १३ जना छन्। यस्तै जिल्ला न्यायाधीशबाट ७५ जनाको आवेदन परेको छ। न्याय समूहका कर्मचारीबाट १३ जना, सरकारी वकिल समूहबाट नौ जना, कानुन समूहका कर्मचारीबाट आठ र अन्यबाट ११ जना छन्। आवेदकमध्ये १९ जना महिला छन्। कुल आवेदकमध्ये ८१ जनाको नामावली अब परिषद्ले सार्वजनिक गर्ने छ।

संविधानले उच्च अदालतको न्यायाधीश नियुक्तिको योग्यता तोकेको छ। संवैधानिक प्रावधानअनुसार कानुनमा स्नातक हासिल गरी जिल्ला न्यायाधीशका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको, वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको, कानुनको अध्यापन अनुसन्धानमा कम्तीमा १० वर्ष काम गरेको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त हुन सक्ने व्यवस्था छ। यस्तै न्याय सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त हुन सक्ने व्यवस्था छ। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *