काठमाडौं । प्रहरीले बीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराई हत्या गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या गरेको र हत्यापछि बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् ।
उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए । उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए ।
विवाहअघि नै उनीहरुले सर्जनको जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ ।
त्यस्तै, २०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि ब्यूरोलाई खबर गरेको र त्यसपछि ब्यूरोले अनुसन्धान गरेको सुवेदीले जानकारी दिए ।
दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनुलगायत शंकाका आधारहरु देखिएको पनि ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले बताए । गिरोहका सदस्यले ठूलो रकमको बीमा गराई हत्या गरी मृत्युपछि बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँट समेत गरेको पाइएको प्रहरीले जनाएको छ।
