काठमाडौं । गतसाता वीरगंज पुगेको बेला राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन वीरगंज कृषि औजार कारखानाको अवलोकन गर्न गएका रहेछन् । कारखानाको दुई घण्टा जति सम्पूर्ण मेशीनको अवलोकन गरेछन् । त्यसपछि उनले सामाजिक संजालमा लेखे कि कारखानाका ५० प्रतिशत मेशीनहरु काम लाग्ने देखियो । करिब २५ करोड रुपैयाँ जति खर्च गर्ने र ईमान्दारीताका साथ काम गर्ने हो भने यो कारखानालाई नेपालको लागि निकै नै आधुनिक औजार कारखाना बनाउन सकिने देखियो । त्यस्तै उनले नयाँ मेशीनहरु थप्ने र पुराना मेशीनहरुलाई मर्मत सम्भार गर्ने हो भने यो कारखानामा कृषकहरुलाई चाहिने खन्ने, जोत्ने, काटकुट गर्ने, रोप्ने, गोड्ने जस्ता साना र मझौला किसिमका कृषि औजारहरु उत्पादन गर्न सकिने देखे ।
वीरगंज कृषि औजार कारखाना सोभियत संघले निर्माण गरिदिएको हो । अहिले यो वर्र्षौदेखि संचालनमा छैन । जसका कारण खिया लागेर कतिपय पाटपूर्जा काम नलाग्ने भएका छन् । पुनका अनुसार त्यहाँ भएका औजारहरुको भरमा मात्र कारखानालाई पुनर्जीवन दिन सम्भव छैन । विभिन्न आधुनिक प्रविधिमा आधारित स्वचालित मेशीनहरु पनि थप गर्यो भने ठूलो मात्रामा कृषकहरुलाई चाहिने औजारहरु उत्पादन गर्न सकिने उनलाई लागेको छ । उनका अनुसार यस बाहेक त्यहाँ धातुहरु पगाल्न र कास्टिङ गर्नको लागि आवश्यक सिस्टमहरु राख्नुपर्ने छ ।
साथै सो कारखानाको हाता भित्र एउटा आधुनिक कृषि, मेकानिकल, इलेक्ट्रिकल सहितका विभिन्न औजार, उपकरण र मेशीनहरु बनाउन अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार गर्नको लागि एउटा उच्चस्तरको अनुसन्धान र आविष्कार केन्द्र संचालन गर्यो भने नेपालका प्रतिभाशाली र सृजनशील युवाहरुलाई नेपालमा नै राख्न सकिने धेरै ठूलो सम्भावना पनि पुनले देखेका छन् । त्यस्तै उनले नेपालको कृषि र अन्य थुप्रै किसिमका साना र मझौला उद्योगहरुलाई चाहिने औजार र उपकरणहरु उत्पादन गरि त्यस्ता सामानहरुको आयात घटाई देशको व्यापार घाटा निकै नै घटाउन सकिने देखेका छन् । यो काम गर्न कुनै गाह्रो नभएको उनले उल्लेख गरेका छन् ।
यो एउटा भयो । यस्ता थुप्रै उद्योग छन् नेपालमा जुन अहिले बन्द अवस्थामा छन् । तर तिनलाई पुनः संचालन गरेको खण्डमा तिनले हामीलाई आत्मनिर्भर बनाउने र व्यापार घाटा होइन हामी उत्पादन निर्यात गरी डलर कमाउन सक्छौं । २०४६ सालपछि पंचायतकालमा स्थापना भएका धेरै उद्योग निजीकरण गर्ने नाममा बेचिए । विभिन्न मित्रराष्ट्रहरुले बनाइदिएका कारखाना बनाइदिएका थिए । पंचायतकालमा मित्रराष्ट्रहरुले निर्माण गरिदिएका बाँसबारी छालाजुत्ता कारखाना , हरिसिद्धि इट्टा टायल कारखाना , भृकुटी कागज कारखाना लगायतका करिव एक दर्जन उद्योगहरु निकै सस्तो मुल्यमा विक्रि भए । किन्नेले संचालन गरिदिएको भए ठिकै हुन्थ्यो तर किन्नेले पनि बन्द गरिदिएका कारण हजारौंको रोजगारी गुम्यो ।
पंचायतकालमा स्थापना भएका जनकपुर चुरोट कारखाना, हेटौंडा कागज कारखाना , बुटवल धागो कारखाना , वीरगन्ज चिनी कारखाना , गोरखकारी टायर उद्योग बन्द छन् हिमाल सिमेन्ट कारखानाको त नामो निशान छैन ।
सरकारद्वारा संचालित उद्योग–कारखानाहरु धरासायी हुनुमा अदृश्य कारणहरु धेरै छन् । दृश्य कारण भनेको निरन्तर घाटा हुनु हो । भृकुटी कागज कारखाना बन्द गरेर बार्षिक ५० अर्ब रुपैंया बराबरको कगज आयत गर्ने गरिएको छ । हेटौंडा कपडा उद्योग बन्द छ , नेपालमा बार्षिक करिव ३ खर्ब रुपैयाँ बरावरको लत्ता कपडा आयत हुन्छ । वीरगन्ज चिनी कारखाना बन्द छ , नेपालमा वार्षिक ३० अर्ब रुपैयाँ बरावरको चिनी आयत हुन्छ । यस्ता उदाहरणहरु धेरै छन् ।
पंचायतकालमा नेपाल कपडामा आत्मनिर्भर थियो । तयारी पोशाक निर्यात गरेका कारण नेपालले वैदेशिक व्यापार सन्तुलन कायम गरेको थियो । नेपाल कपडामा मात्रै आत्मनिर्भर होइन, कपडाको कच्चा पदार्थ धागोमा पनि आत्मनिर्भर थियो । धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कपासमा पनि नेपाल आत्मनिर्भर थियो ।
तर आजको पुस्तालाई यो कुरा सन्दा आश्चर्य लाग्छ । जब हेटौंडा कपडा कारखाना बन्द भयो, तब बुटवल धागो कारखाना पनि बन्द भयो । बुटवल धागो कारखाना बन्द भए पछि कपास खेती धरासायी हुनु स्वभाविकै हो । हेटौंडा कपडा उद्योग बन्द हुँदा करिव १७ सय जना कामदारले प्रत्यक्ष रोजगारी गुमाए । हेटौंडा कपडा उद्योग बन्द गरिएका कारण धागोले बजार पाउन छाडेपछि बुटबल धागो कारखाना बन्द हुँदा करिव २२ सय जनाले प्रत्यक्ष रोजगारी गुमाए । बुटवल धागो कारखाना संचालनामा हुँदा दाङ, बाँके , बर्दिया र कैलालीका करिव एक लाख किसानहरु कपास खेतीमा संलग्न थिए । सिंचाईको खासै आवश्यक नपर्ने भएकोले त्यस क्षेत्रका किसानहरु कपास खेतीमा आकर्षित थिए ।
बुटवल धागो कारखाना बन्द भए पछि दाङ, बाँके, बर्दिया र कैलालीका कपास खेतीमा संलग्न करिव एक लाख किसानको रोजीरोटी गुम्यो । सर्वसाधरण जनताको रोजी रोटी मात्रै गुमेको होइन, कपास आयात, धागो आयात र कपडा आयातमा नेपालबाट खर्बौं रुपैंया रकम विदेशिन थालेको छ । आज भन्दा २५ वर्ष अघिसम्म नेपालका गार्मेन्ट अर्थात् तयारी पोशक उद्योगमा करिव ४० हजारले रोजगारी पाएका थिए । बार्षिक २० अर्ब रुपैंयाँ बरावरको तयारी पोशक विदेश निर्यात हुन्थ्यो । गार्मेन्ट उद्योगका लागि आवश्यक सुती कपडा हेटौंडा कपडा उद्योगले नै आपूर्ति गर्दै आएको थियो । त्यतिबेला नेपाललाई बार्षिक २० करोड मिटर सुती कपडा आवश्यक पथ्र्यो ।
तर हेटौंडा कपडा उद्योगको क्षमता वार्षिक २२ करोड मिटर कपडा उत्पादन गर्न सक्ने थियो । त्यसैले नेपालमा कपडाको व्यापार गर्न चाहनेहरुले हेटौंडा कपडा उद्योगलाई धरासायी बनाउने षड्यन्त्र गर्न थाले । आखिर यो षड्यन्त्र सफल भयो । २०५७ साल देखि हेटौंडा कपडा उद्योग बन्द भयो । उद्योग पुनः संचालनका लागि विभिन्न सरकारहरुले विभिन्न निर्णय गरे । तर निर्णय कार्यान्वयन भएनन् । आर्थिक संकटका कारण श्रीलंका अहिले तहसनहस बनेको छ । विदेशी मुद्रा सञ्चिति नहुँदा यो अवस्था सृजना भएको हो । हाम्रोमा पनि व्यापार घाटा उच्च छ । हामी पनि श्रीलंकाको बाटोमा जाने त होइनौं चिन्ता बढेको छ । त्यसैले नेपालले पनि आत्मनिर्भर बन्न महावीर पुनले भनेझैं बन्द उद्योग संचालनको योजना बनाउने हो कि ?
