पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको अराजकता र अवसरवादका कारण स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको कुरालाई शिक्षाका रूपमा लिई संसदको निर्वाचनलाई विजयमा परिणत गर्नुपर्ने बताएका छन् ।
पार्टीको कास्की जिल्ला कमिटीले आइतबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको धङधङीबाट बाहिर निस्कन र मंसीरमा हुने आम निर्वाचनसम्म नकारात्मक कुरा नगर्न कार्यकर्तालाई निर्देशन दिए ।
पोखरा महानगरपालिका पार्टीले जित्नैपर्ने ठाउँ भए पनि परिणाम फरक आएको उल्लेख गर्दै महासचिव पोखरेलले समय निर्धारण गरेर कार्यतालिका बनाएर हारलाई जीतमा बदल्ने गरी काम गर्न निर्देशन दिए ।
महासचिव पोखरेलले भने,‘पार्टीका लागि योगदान सम्झेर भए पनि आगामी प्रतिनिधि सभा निर्वाचनसम्म नकारात्मक कुरा नगरी एकतावद्ध भई लाग्नुस् ।’
पोखरामा भएको पराजयको घटनालाई पार्टीपङ्तीले सबभन्दा बढी औंला ठड्याएको जानकारी दिंदै झगडाको कारणले पराजय व्यहोर्नुपरेको उनले बताए । महासचिव पोखरेलले आरोप प्रत्यारोपमा पुगेका नेता तथा कार्यकर्ताले आफूले आफैलाई इमान्दार सावित गर्न सुझाव दिए ।
उनले भने,‘सबै नेताले एकै ठाउँमा बसेर शङ्का उपशङ्का मेटाउनुस् । जिल्लाका सबै ठूला नेताहरू हामी मिल्यौं भन्नुस्, सबै समस्या समाधान हुन्छ । ‘आन्तरिक एकता कायम गर्यौं भनेर जनतामा गए आगामी निर्वाचनमा तीनदेखि चारप्रतिशत मत बढ्छ । त्यति मत बढे पहिलेको हारलाई जीतमा बदल्न सकिन्छ ।’
