पोखरा महानगरको १३ करोड गायब !

पोखरा । क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगर पोखरा महानगरपालिकामा आर्थिक बेथितिको यस्तो उदाहरण भेटिएको छ । राजस्वको १३ करोड रुपैयाँ बैंक खातामा छैन, गायब भएको छ । महालेखापरीक्षकको कार्यालयकोे वार्षिक प्रतिवेदन २०७७ अनुसार आर्थिक वर्ष ०७५÷७६ मा महानगरमा १३ करोड एक लाखको हिसाब हराएको छ ।

राजस्व शाखाबाट प्राप्त विवरणअनुसार कुल आय एक अर्ब ३९ करोड ८२ लाख छ । तर, महानगरको सञ्चित कोषको खाताअनुसार त्यस वर्ष एक अर्ब २६ करोड ८० लाख आम्दानी भएको छ । मुक्तिनाथ विकास बैंकबाट राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चित कोष खातामा एक अर्ब २६ करोड ८० लाख जम्मा भएको देखिएपछि राजस्व शाखाको आम्दानीबीच फरक देखिएको हो । यसअनुसार १३ करोड दुई लाख हिसाबमा हराएको महालेखाको प्रतिवेदनमा छ ।

महानगरले एक करोड ७३ लाखको हिसाब मात्र फरक परेको र त्यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । महनगरले विभिन्न बैंकमार्फत महानगरको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा एक अर्ब ३८ करोड नौ लाख जम्मा भएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले फरक रकम एक करोड ७३ लाख मात्र रहेको र फरक रकम सम्बन्धमा छानबिन भइरहेको बताए ।

यति मात्रै होइन, महालेखाको प्रतिवेदनअनुसार महानगरमा आर्थिक बेथितिका अरू पनि उदाहरण छन् । जनप्रतिनिधि र कर्मचारीले नियमविपरीत भत्ता लिएको, इन्धनमा मनपरी खर्च गरेको, परामर्शको नाममा खर्च गरेको, फोहोरमैला र पार्किङ ठेक्का व्यवस्थापन गर्न नसकेको, अनियमित तरिकाले सवारी खरिद गरेको जस्ता बेथिति भेटिएका छन् । यति मात्रै होइन, बेरुजु पनि बढेको छ ।यो खवर आज नयां पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *