धनगढी । कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरी लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए ।
उनीहरुलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए। केही बेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो ।
कञ्चनपुरको दैजी घर भएका डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर भण्डारी आज महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
