यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गरेका हुन् ।

कृषिलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम ल्याएका छन् । यसको नारा नै कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि रहेको छ । यसअनुसार ५ वर्षभित्र दूध, फलफूल, तरकारी माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उल्लेख गरिएको छ । रैथाने कृषि उपज संरक्षण, संवर्द्धन र व्यवसायीकरण गर्ने नीति अघि सारिएको छ ।

पोखरा महानगरले मीठा नाराहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ। जस्तो बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अनुसार कृषि उत्पादनलाई बजारीकरण गरिने उल्लेख छ। एक वडाः एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम, माटो नै जीवन हो, पशु उतपादनमा वृद्धिः आर्थिक उपार्जनसहितको समृद्धि, कृषकहरुको पहुँच र पहिचानः व्यावसायिक कृषकहरुको संरक्षण र सम्मान जस्ता कार्यक्रम अघि सारिएको छ ।

रोजगारीतर्फ पोखरा महानगरले हरेक आवको पहिलो छ महिनामा ३ हजार रोजगारी थप गर्ने योजना बनाएको छ। यसबाहेक महानगर विशेष स्वरोजगार कार्यक्रम, न्यूनतम रोजागरीको प्रत्याभूति, बेरोजगारीको सीप र क्षमतालाई आधार लिई तथ्यांक संकलन र अभिलेख व्यवस्थापन गरी श्रम बजारको आवश्यकताअनुसार सीप तथा तालिम दिने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *