‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ मा तीर्थकुमार पुन प्रथम

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम भएका छन् ।

मंगलबार बिहान सुर्खेत वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१ किलोमिटर १०० मिटर दूरी एक घण्टा नौ मिनेट १५ सेकेन्डमा पार गरेर पुन प्रथम भए ।

त्यस्तै, एक घण्टा नौ मिनेट २४ सेकेण्डमा सो दूरी पार गरेर राजन रोकाय द्वितीय र एक घण्टा १० मिनेटमा ११ सेकेन्डमा सो दूरी पार गरी जुम्लाका चिने बुढा तृतीय भएका कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

त्यस्तै, खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौँ र श्रीकाश राईले छैटौँ स्थान प्राप्त गरेका सदस्य सचिव सञ्ज्यालले बताए । उनका अनुसार प्रतियोगिताका प्रथम पुनलाई ७१ हजार, द्वितीय रोकायलाई ४१ हजार, तृतीय बुढालाई ३१ हजार चौथो भाटलाई २० हजार, पाँचौँ कार्कीलाई १५ हजार र छैटौँ राईलाई १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, पाँच किलोमिटर छात्रातर्फ प्रथम विमला कार्की, द्वितीय निशा मल्ल र तृतीय लक्ष्मी शाही भइन् । छात्रातर्फ प्रथम विकास विक, द्वितीय अजय विक र तृतीय प्रकाश बुढा भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्राछात्रलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको जस्तै लक्ष्य लिएर यस क्षेत्रको विकासको गति अघि बढाउनुपर्ने धारणा राखे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *