अर्थमन्त्रीको धम्की, ‘जेठ १४ गते रातीको सीसी टिभी फुटेज हेर्न दिन्न’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते मध्यरातको सीसी टिभी फुटेज हेर्न नदिने धम्की दिएका छन् ।  बजेट भाषणको अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सीसी टिभी फुटेज देखाउनुपर्ने भनेको भएपनि एक टेलिभिजन अन्तरवार्तामा अर्थमन्त्री शर्माले आफूले उक्त दिनको सीसी टिभी फुटेज नदेखाउने धम्की दिएका हुन् ।

‘सीसी क्यामेरा हेर्न ती को हुन् ?’ अर्थमन्त्री आक्रोशित हुँदै भने, ‘सरकारले हेर्ला नि त आवश्यक भए । एमालेले सीसी क्यामेरा हेर्न चाहदैमा हेर्न दिनुपर्छ भन्ने के छ ? त्यो मैले गरेको निर्णय हो र ?’

पत्रकारले सोध्छन्, ‘गल्ती नगरेको भए देखाईदिनुस् न एमालेका नेताहरुलाई बोलाएर, के हुन्छ ?’  जवाफमा अर्थमन्त्री भन्छन्, ‘हेर्नेले हेर्छन् त । हेर्नेले हेरुन् न त मैले रोकेको छु ? मैले नहेरेर भनेर रोकेको छु ? यो त सरकारको कुरा हो नि ।’

जेठ १४ गते राती अर्थमन्त्री शर्माले पूर्व नायब सुब्बा रघुनाथ घिमिरे र सिए भनिने अर्का एक जनालाई बोलाएर आफ्नो तर्फबाट करका दरहरु हेरफेर गर्न लगाएको समाचार सार्वजनिक भएपछि अहिले अर्थमन्त्री तीव्र विवादमा छन् ।

यस सम्बन्धि समाचार अन्नपूर्ण राष्ट्रिय दैनिकले २०७९ जेठ ३० गते लेखेको थियो । यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको राजिनामा माग गर्दै आएको छ ।  तर, अर्थमन्त्री शर्मा र गठबन्धनका नेताहरुले भने ढाकछोप गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image