बेलारुसका राष्ट्रपतिद्वारा सपथ ग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार

बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिएका थिए ।

एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथ ग्रहण समारोह गोप्य रुपमा गरिएको र त्यो नौटंकी मात्र रहेको बताए । धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोर्याएका छन् । राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ । ६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिनु भएको थियो ।

त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वसोभियत युननिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपति छन् । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गरेका थिए । उनकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा छन् ।

उनका दशौं हजार समर्थकहरुले छ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । लिथुआनियाको राजधानी भिल्न्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेतृ स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गरिन् । उनले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताइन् । युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *