हुम्ला सीमा विवादः आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाको दाबी

काठमाडौँ । हुम्लाको उत्तरी सीमा क्षेत्रमा चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको छ । नेपाल–चीन सीमा क्षेत्रबाट नेपालतर्फको भूमिमा ९ वटा भवन बनाएको समाचार सार्वजनिक भएपछि हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले उक्त भूभाग आफ्नै भएको बताएको हो ।

चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि नेपाली अध्ययन टोली करिब डेढ घण्टा त्यहाँ बसेर फर्किएको टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । यद्यपि विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ ।

हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार स्थलगत अध्ययन गर्न उक्त टोली पुगेको थियो । टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए। त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएका थिए ।

अध्यक्ष तामाङले भने, “भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो । हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो । लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ ।”

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो ।टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए । एउटा ट्याङ्कर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए ।

चिनियाँ सेनाको भनाई उद्धृत गर्दै अध्यक्ष तामाङले भने, “हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन। तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ । कुरा भएको त्यति हो । हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो । एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन ।”

नेपालले कूटनीतिकमाध्यमबाट सम्पर्क जारी राखे पनि चिनियाँ पक्षले ती भवनहरूको निर्माणलाई लिएर उठिरहेका प्रश्नहरूबारे हालसम्म प्रतिक्रिया जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *