प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताएका छन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले प्रेसमाथि हुने गरेका घटना, सरकार र प्रेसबीचको समस्या सङ्क्रमणकालको कारण देखिएको बताए ।

उनले समस्या औँल्याउँदै गर्दा समाधानका लागि पनि आफूले पहलकदमी लिने जनाए । सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल पत्रकार आचारसंहिता पालना गराउन लागिपरेको बताए । काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सरकारले सरोकार पक्षको राय, परामर्शविना मिडिया काउन्सिललगायत विधेयक ल्याउँदा विवाद उठेको बताउँदै लोकतन्त्रमा जसका लागि कानून बनाउन खोजिएको हो, त्यसमा सरोकार पक्षको सहभागिता अनिवार्य हुनुपर्छ भने ।

आज पहिलो चरणमा वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण राष्ट्रपति भवन, शीतल निवासमा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल आचारसंहिता पुरस्कार वितरण गरेका थिए ।

विभिन्न पुरस्कार वितरण

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । त्यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरा तथा रु ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

रु २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) लाई प्रदान गरिएको छ ।

यस्तै रु १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) लाई दिइएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गाका पत्रकार गणेश राईलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार सभामुख सापकोटाले वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *