लम्की । सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर सङ्कटमा परेका हुन् । त्यसो त मजदूर मात्र होइन, सुनचाँदी व्यवसाय आफै पनि धरापमा छन ।
सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोवार शून्य जस्तै छ । दुई हप्तासम्म ग्राहक आएका छैनन् । पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् ।
गत चैत १० गते सुनको मूल्य प्रतितोला रु ७६ हजार थियो आज रु ९२ हजार पाँच सय छ । कारोवार नभएपछि व्यवसायी बैङ्कको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् । लकडाउन खुकुलो भए पनि व्यवसाय गर्ने वातावरण नभएको सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष देवहादुर सुनारले जानकारीदिए ।
काठमाडौँबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको जानकारी उनले दिए । सुनचाँदी व्यवसाय सङ्कटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ ।
टीकापुर बजारमा मात्र हप्तामा दुई किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो । लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ ।
मुल्य बढेपनि कारोवार ठप्प
