काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै उनले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी छन् ।
जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको राष्ट्रपति भण्डारीद्वारा जारी संदेशमा उल्लेख छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुुलुकको आर्थिक, सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिकको काम र जीवनलाई मर्यादित बनाएरमात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकार श्रमिकका श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधामन्त्री देउवाले हरेक वर्ष श्रमबजारमा आएका श्रमशक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न नेपाल सरकारले प्राथमिकतासाथ काम गरिरहेको जनाएका छन् ।
“श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजानेछ ।’’ प्रधानमन्त्रीद्वारा जारी संदेशमा उल्लेख छ ।