काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनादेखि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् ।
बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिएका छन् । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सवारी सञ्चालन गरिएको व्यवसायीहरुले जनाएका छन् ।
सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालन गरेको व्यवसायीहरुले बताएका छन् । बिहीबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा आएपनि यात्रुको संख्या भने न्यून देखिएको छ ।
आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट मात्रै सुरु हुने भएको छ ।
अहिले चार्टड उडानमात्र भइरहेको बिमानस्थलले जनाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भएपनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयरलाइन्स कम्पनीले पनि ५ गतेबाट उडान गर्नेगरि बुकिङ खुलाएको जनाएका छन् ।
कोरोनाका कारण बन्द भएको करिब ६ महिना पछि सुरु हुन लागेको नियमित उडानमा विमानहरूले क्षमताको आधा मात्र यात्रु उडान पाउने भएका छन् । कोरोना संक्रमण बढ्ने जोखिमलाई ध्यानमा राख्दै क्षमताको आधा मात्र यात्रु उडान पाउने गरी विमानहरूले सेवा दिने बताइएको छ ।
कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि सुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ । अन्तराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।
