काठमाडौं । हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए ।
गाडीमा प्याज बोकेर आउँछन् । बेच्छन् । पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन् । दुलालको भनाइ थियो । यति सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो कारोवारमा कसैले बिल लिए वा दिएको छैन ।
तिनकुनेको कुषि बजारमा १२८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुृद्रा व्यापार हुन्छ । हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन् । परिचय पाटी राखिएको छैन । खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ । नापतौलको प्रमाण पत्र छैन ।
यसरी सञ्चालन गरिएकामध्ये आजबाट ३ वटा होलसेल पसलको कारोबार रोक्का गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तिनकुनेका प्रहरी नायव निरीक्षक बिनोदबिक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको हो ।
यसरी रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्यातीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् । उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।
प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको त्यहाँका तीनकुनेका व्यापारीको भनाइ छ । पछि हामीले थाहा पायौं । हिजै कालीमाटी र बल्खुमा अनुगमन भएको रहेछ । उनीहरुले आफ्नो बचावट गर्दै भने — प्याज पठाए तर बिल पठाएनन् । हामी आफैं अन्यौलमा छौं । उनीहरुले गर्दा हामी पो फस्यौं ।
अनुगमनमा उपभोक्ता अधिकार अनुसन्धान मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, स्थानीय प्रहरी, नगर प्रहरीका प्रतिनिधि थिए ।
यो पनि



