चितवन पुग्न प्रचण्डलाई भ्याइनभ्याइ, आज भूमिहीन दलितलाई लालपुर्जा बाँड्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो १३ दिनको अवधिमा तेस्रो पटक चितवन पुगेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा प्रचण्डलाई चितवन पुग्न भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका-२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन पुग्दैछन् ।

लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै लागेका हुन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर-२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।

चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ ।

भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *