पीएनजीद्वारा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको जारि खेलमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । शरजाह क्रिकेट स्टेडियममा जारी खेलमा पीएनजीले नेपाललाई जीतको लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पीएनजीले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो । पीएनजीको लागि चार्लेस अमिनीले सर्वाधिक ५९ रन जोडे । उनले ८२ बलमा ७ चौका प्रहार गरे । यस्तै चद सोपेरले ७२ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाउँदा टोनी उराले २७, लेगा सिअकाले २५, नोर्मान भानुआले २३ र असाद भालाले १९ रनको योगदान गरे ।

नेपालको लागि सोमपाल कामीले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट लिए । यस्तै अरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक/एक विकेट लिए । दोस्रो इनिङ्स केहिबेरमा शुरु हुनेछ ।

नेपाल आज हुने खेल जित्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । विश्वकप लिग-२ को छैटौं स्थानमा रहेको नेपाललाई यस सिरिजमा सक्दो जीत निकाल्दै स्थान सुधार गर्ने मौका रहेको छ । हाल नेपालले ८ खेलबाट ८ अङ्क जोडेको छ । लिगमा नेपाल सबैभन्दा कम खेल खेल्ने टोली हो ।

नेपालले सिरिजको तयारीको रुपमा श्रीलंकामा खेलेको ४ मध्य ३ अभ्यास खेल जीत निकालेको थियो भने एक खेलमा पराजित भएको थियो । तर बलियो टोलीसँग खेल्न नपाउँदा अझै टोलीको कमजोरी पत्ता लगाउन नसकेको नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बताएका थिए ।

यता पीएनजी भने लिगमा पहिलो जीतको खोजीमा रहेको छ । लिगमा १३ खेल खेलिसकेको पीएनजीलै अझै जीतको खाता खोल्न सकेको छैन । हिजो मंगलबार भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमापनि पीएनजी युएईसँग ७ विकेटले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा नेपाल, पीएनजी र युएई रहेका छन् । सिरिजमा तीनै टोलीले ४/४ खेल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *