कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताएका छन् ।
सुर्खेतमा पार्टीको आमसभालाई सम्बोधन गर्न सुर्खेत आएका लिङ्देनले शनिबार विमानस्थलमा पत्रकाहरुसँग कुरा गर्दै एमसीसी पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएको र अब कार्यान्वयनमा पनि नरहने बताएका हुन् । उनले एमसीसीमा केही दलहरुले गरेको व्याख्यात्मक घोषणा पनि लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरे ।
उनले अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरे । राप्रपाले जितेका स्थानीय तहहरुमा फरक मोडालिटी तयार गरी भ्रष्टाचाररहित स्थानीय तह बनाउनेतर्फ लाग्ने बताए । उनले कमल थापाले पार्टी परित्याग गर्नु राप्रपालाई क्षति नभई पार्टीलाई अझ सशक्त बनाउन प्रेरणा मिलेको बताए ।
