काठमाडौं । नेपाली क्रिकेट टोलीका युवा ओपनिंङ ब्याट्सम्यान कुशल भुर्तेल टि-२० आईमा सतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । शनिबार दिउँसो आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत भएको खेलमा फिलिपिन्सविरुद्ध सतक प्रहार गर्दै कुशल टि-२० आईमा सतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका हुन् ।
कुशलको शानदार सतकको मद्दतमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको हो । कुशलले फिलिपिन्सविरुद्ध ६१ बलमा अवजित १ सय ४ रन बनाए । उनले ५७ बलमा सतक प्रहार गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरे । उनले तेस्रो विकेटको लागि दीपेन्द्र सिंह एरिसँग १ सय ७१ रनको साझेदारी गरे । नेपाली खेलाडीले कुनैपनि विकेटको लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । दीपेन्द्रले ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रन बनाउँदै पभिलियन फर्किए । कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।
यसअघि नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लले टि-२० आईमा सतक प्रहार गरेका थिए । पारसले सन् २०१९ सेप्टेम्बरमा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रन बनाउँदै नेपालको लागि टि-२० आई सतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । सोहि वर्ष ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली(साग)मा भुटानविरुद्ध घरेलु मैदानमा १ सय ७ रन बनाएका थिए ।
