नागढुङ्गाबाट लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना७ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले बोकेको झोलाबाट एक हजार २० एम्पुल लागुऔषध (डाइजेपाम, नोफिन र फेनारगन) फेला पारिएको थियो । हाल उनीमाथि औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

यसैबीच प्रहरीले काठमाडौँको भद्रकालीबाट आज नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । यहाँस्थित सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *