मुगुका मान्तेलाई काठमाडौँमा श्रीमतीको उपचार गराउन सकस

मुगु । मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन् ।

उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला परेकी छन् । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा परेका छन् । ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।

“पैसा छैन डाक्टरले यो औषधि किन्नु प¥यो त्यो औषधि किन्नु प¥यो भन्न थाल्छन्” शाहीले फोनमा कुरा गर्दै भने, “ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?” अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन् । काठमाडौँ उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए ।

बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हँुदै नेपालगञ्ज पुगेका थिए । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए । काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन् । उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए ।

आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छिन् । बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन् ।

काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गर्दै आएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा छन् । तर उनको पनि शाहीकै जस्तै अवस्था छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन् । “ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन”, बृजनले फोनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *