काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।
चितवनको सौराहामा दुई दिनसम्म चलेको बैठकले पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेन्डा र उम्मेदवारको पक्षमा मतमार्फत् जनविश्वास व्यक्त हुने गरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन आह्वान गरेको हो ।
त्यस्तै बैठकले जेनजी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाहीको माग गरेको छ । साथै, आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेट अनुसार उनीहरुको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ ।
बैठकले देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको भन्दै परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने निर्णय गरेको छ । बैठकले पूर्वघोषित फागुन ७–९ मा महाधिवेशन गर्न नसकिने भन्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरेको छ ।



