काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गरेका छन् ।
शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएको उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ । राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सवै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ । हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौं । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौं ।’

