धनुषाको हंसपुर नगरपालिकाका पूर्वउपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका पूर्वउपमेयर रेणुदेवी झासहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पिपिसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर झासहित ९ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । नगरको वडा–५ स्थित सुगा निकासदेखि कट्टीसम्म पिपिसी ढलान योजनामा टुक्रा टुक्रा पारी रकम भुक्तानी गर्ने क्रममा भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियारले पूर्वउपमेयर झा, प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा र देव कन्स्ट्रक्सन तथा उक्त कम्पनीका प्रोप्राइटर शुभचन्द्र मण्डलविरूद्ध मुद्दा दायर गरेको हो ।

२०७६/७७ को नगर सभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पिपिसी ढलान गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको अनुसन्धानबाट खुलेको छ । सोही योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा ५२ लाख ७२ हजार १६८ रूपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *