मलेसिया पठाइएको अवैध रकम प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

काठमाडौं । मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको हो ।

नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको र आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा भूमिका रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९.९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८०.८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा संकलन गरी मलेसिया पठाइएको आरोप छ ।

उक्त रकम पठाउने निर्णय सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत भएको तथा यसबाट नेपालको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने आरोप अनुसन्धानमा उठाइएको छ ।

सीआईबीले काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको जनाएको छ । पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्याल पूर्वमुख्यसचिवसेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *