धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४, कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।
गएराति करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४, बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, नौ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ घाइते भएका छन् ।
त्यस्तै, बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा परेको बोलेरो गाडी र मृतकको शव घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
