स्थानीय तहमा कस्तो व्यक्ति उम्मेदवार बनाउने ?

-विपिन अधिकारी ।

स्थानीय निर्वाचन आफ्नो गाउँ, टोल, नगर र क्षेत्रको विकासप्रति समर्पित स्थानीय राजनीतिक नेतृत्वका लागि ठूलो अवसर हो। यो अवसर निर्वाचन जित्ने मात्र नभई जनताको विश्वास जितेर त्यसलाई परिणाममुखी काममा रूपान्तरण गर्ने अवसर पनि हो। नेपालको संविधानका धारा २१५ र २१६ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारमा केही घोषित न्यूनतम योग्यता हुनै पर्दछ।

जस्तै नेपाली नागरिक हुनुपर्ने, मनोनयन दर्ता गर्दासम्म २१ वर्ष पूरा भएको उमेर, प्रमुख÷उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि सम्बन्धित पालिकामा र वडाका पदका लागि सम्बन्धित वडामा नाम हुनुपर्ने, प्रचलित कानुनले अयोग्य नठहराएको हुनुपर्ने, महिला तथा दलित महिलाका लागि आरक्षित पदमा सम्बन्धित समूहको योग्यता पूरा गरेको हुनुपर्ने । भ्रष्टाचारलगायतका निश्चित अपराधमा दोषी ठहरिएको अवस्था, कानुनले निषेध गरेका लाभका पदमा बहाल रहेको अवस्था र अन्य तोकिएका अयोग्यताले पनि उम्मेदवारीमा असर पार्छन् । विशेष ध्यान दिनुपर्ने कुरा, नेपालको स्थानीय निर्वाचनमा उम्मेदवार हुन एसईई, कक्षा १२, स्नातक वा कुनै निश्चित शैक्षिक उपाधि अनिवार्य गरिएको छैन ।

मुलुकको विकासका लागि उम्मेदवारमा कस्तो प्रतिस्पर्धात्मक योग्यता हुनुपर्ला ? अहिलेको समय स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि स्पष्ट, पारदर्शी र प्रतिस्पर्धात्मक योग्यताका मापदण्ड निर्धारण गर्ने विषयमा व्यापक बहस गर्ने उपयुक्त अवसर हो । विशेषगरी राजनीतिक दलहरूभित्र युवाहरूले अर्थपूर्ण सहभागिता र नेतृत्वको अवसर खोजिरहेका बेला उम्मेदवार छनोटको प्रक्रिया कस्तो हुनुपर्छ भन्ने प्रश्न अझ सान्दर्भिक बनेको छ।

राजनीतिक दलहरूले उम्मेदवार छनोटका मापदण्ड निर्वाचनको मुखमा मात्र होइन, पर्याप्त समयअगावै सार्वजनिक गरेर आफ्ना सदस्यहरूलाई तयारी र प्रतिस्पर्धाको समान अवसर दिन सक्छन्। बहस केवल कसलाई उम्मेदवार बनाउने भन्नेमा सीमित नभई कस्तो योग्यता, क्षमता, चरित्र र विकासको दृष्टिकोण भएको व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ। विगतका दुई स्थानीय तहका निर्वाचनले हामीलाई सफल नेतृत्व, सुशासन र स्थानीय विकासका विभिन्न उदाहरणहरू दिइसकेका छन्। अब ती अनुभव र सफल अभ्यासहरूको वस्तुनिष्ठ समीक्षा गरी तिनलाई संस्थागत नियम र मापदण्डमा रूपान्तरण गर्ने बेला आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *