सांसदहरुको विदेश भ्रमणको औचित्य पुष्टि हुनुपर्छ : सांसद संग्रौला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले आफूहरूको उद्देश्य विदेश भ्रमणको विरोध गर्नु नभई त्यस्ता भ्रमण उपलब्धिमूलक हुनुपर्ने र घुमघाममा मात्र सीमित हुन नहुने स्पष्ट पारेकी छन्।

पार्टीभित्रैबाट विदेश भ्रमणको औचित्य र त्यसमा हुने सरकारी खर्चबारे प्रश्न उठ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले आफूले उठाएको विषयलाई सकारात्मक र सही सुझावका रूपमा ग्रहण गरेको भन्दै संग्रौलाले धन्यवाद दिएकी छन्।

देशको आर्थिक अवस्था कमजोर भइरहेका बेला गरिब जनताले तिरेको करबाट हुने विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने उनको भनाइ छ। यस्ता विषयमा जनतामाझ स्पष्ट सन्देश पुर्याउनुपर्ने उनले उल्लेख गरेकी छन्।

’यो देशमा सबैले बिगारे, अब रवि–बालेन आउनुपर्यो’ भनेर जनताले रास्वपालाई मत दिएको स्मरण गराउँदै उनले जनताको मतको कदर गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरेकी छन्। उनले राम्रो काम गर्नुपर्नेमा जोड दिँदै विदेश भ्रमणमा जाने टोलीलाई शुभकामनासमेत दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *