काठमाडौँ । डिजिटल नेपालको अभियान अन्तर्गत सरकारको विशेष पहलमा नेपाल टेलिकमबाट सहुलियत दरमा शुरु गरिएको फाइबर इन्टरनेट सेवा लिने ग्राहकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।
सर्वसाधारणबाट इन्टरनेट सेवा महँगो भएको गुनासो आएपछि त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सरकारले निरन्तर गृहकार्य गर्दै आएको थियो। परिणामस्वरूप, चालु आर्थिक वर्षका चाडपर्वसमेतलाई लक्षित गर्दै नेपाल टेलिकमले गत असोज ३० गतेदेखि सहुलियत दरमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराउन थालेको हो।
यो सेवाबाट विशेषगरी आधारभूत इन्टरनेट सेवा आवश्यक पर्ने व्यक्ति तथा परिवार लाभान्वित भएका छन् । थोरै इन्टरनेट क्षमता आवश्यक भए पनि बढी मूल्यका प्याकेज लिनुपर्ने बाध्यतामा रहेका ग्राहकका लागि यो सेवा उपयोगी भएको छ।
असोज ३० गतेदेखि कात्तिक १६ गतेसम्म ११ हजार ७६४ नयाँ ग्राहकले यो लिएका छन् । तीमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन् ।
जबकी गत वर्ष कात्तिक महिनाभरि जम्मा २ हजार ९८१ ग्राहकले मात्र यो सेवा लिएका थिए । त्यसैगरी, पछिल्लो तीन सातामा मात्रै इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।
यसका साथै, नेपाल टेलिकमबाट दुर्गम क्षेत्रसहित मुलुकका विभिन्न १ हजार ६०० स्थानमा चालु आर्थिक वर्षभित्र फोरजी–एलटीई सेवा विस्तार गर्ने उद्देश्यले बोलपत्र आह्वान भइसकेको छ।
दूरसञ्चार सेवालाई थप गुणस्तरीय, विश्वसनीय, प्रतिस्पर्धी र सर्वसुलभ बनाउने विषय सरकारको प्राथामिकतामा परेको छ। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य लिएको छ। यसका लागि आवश्यक नयाँ नीति, कानुन तथा संस्थागत र संरचनागत सुधार अघि बढाइने टेलिकमले जनाएको छ ।
