बीबीसी । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङमार्फत चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति फिर्ता ल्याउन प्रयास तीव्र पारेको छ।
कम्पनीका अनुसार चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर बराबरको सम्पत्ति रोक्का तथा सुरक्षित गर्न सफल भएको छ। बाँकी रकम भने अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ। प्रारम्भिक अनुसन्धानमा इन्जिनियरको ल्यापटप ह्याक गरेर अनधिकृत रूपमा रकम निकालिएको आशंका गरिए पनि पछिल्लो अनुसन्धानले आक्रमणको दायरा फराकिलो रहेको देखाएको कम्पनीले जनाएको छ।
विभिन्न साइबर सुरक्षा तथा ब्लकचेन विश्लेषण गर्ने कम्पनीहरूले उक्त आक्रमणमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आशंका गरेका छन्। यो घटना सन् २०२५ मा बाइबिट क्रिप्टो एक्सचेन्जबाट १ अर्ब ५० करोड डलर चोरी भएको घटनाभन्दा ठूलो मानिएको छ।
अमेरिकी गोप्य सेवा (यूएस सिक्रेट सर्भिस) ले चोरी भएको रकम पहिचान, रोक्का, ट्रयाक तथा फिर्ता ल्याउन चौबीसै घण्टा काम गरिरहेको जनाएको छ। वित्तीय अपराध अनुसन्धान गर्ने अमेरिकाको प्रमुख संघीय निकायले साइबर अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
बाइनान्सले पनि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) सँग सहकार्य गरिरहेको जनाएको छ। कम्पनीको अमेरिकी बजार लक्षित एक्सचेन्ज भने यस घटनाबाट प्रभावित नभएको बताइएको छ। यद्यपि चोरीमा अमेरिकी सम्बन्ध भएका टेथर र सर्कलजस्ता डलरसँग मूल्य स्थिर राखिएका क्रिप्टोकरेन्सीसमेत संलग्न रहेकाले अमेरिकी निकायले अनुसन्धान गर्न सक्नेछन्।
बाइनान्सले आफ्ना प्रयोगकर्तालाई उनीहरूको रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण क्षति कम्पनीले व्यहोर्ने आश्वासन दिएको छ। घटनापछि सुरुमा सबै निक्षेप तथा रकम झिक्ने प्रक्रिया स्थगित गरेको कम्पनीले पछिल्लो सूचनामार्फत निक्षेप प्रक्रिया भने प्रभावित नरहेको स्पष्ट पारेको छ।
कम्पनीका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले यो आक्रमण एक व्यक्तिले मात्र गरेको घटना नभएको बताएका छन्। प्रारम्भिक अनुसन्धानमा डेभअप्स इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाइएको आशंका गरिएको भए पनि थप अनुसन्धानबाट सुरक्षामा अन्य स्थानमा समेत कमजोरी भेटिएको उनको भनाइ छ।
