काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावका कारण नेपालमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास तथा डुबानको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिकूल मौसमका कारण विद्युतीय संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् संरचनामा क्षति हुन नदिन तथा सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी विद्युत् आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रतिकूल मौसममा जोखिमको आँकलन गरी सुरक्षित स्थानमा बस्न, आकस्मिक अवस्थाबाहेक आवतजावत नगर्न तथा विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न अनुरोध गरेको छ । साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न र त्यसअनुसार आवश्यक कामकारबाही गर्न पनि आग्रह गरेको छ ।
विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेमा उपभोक्तालाई सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

