काठमाडौं । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान करिब १०ः३४ बजे बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित विद्यालय परिसरमा घटना भएको हो।
विद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौज र धम्की दिइएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहालले महिला शिक्षिकामाथि अभद्र व्यवहार गरेका थिए। सोही क्रममा सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
