किएभ । युक्रेनका विभिन्न सहरमा रुसी मिसाइल र ड्रोनबाट भएको संयुक्त हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । हमलामा आवासीय भवनसहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौँ घाइते भएका छन् ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिनुभएको केही समयपछि बुधबार बिहान हमला भएको हो । चेर्निहिभ क्षेत्रको प्रिलुकी सहरमा मिसाइल आवासीय भवनमा प्रहार हुँदा कम्तीमा चार जनाको मृत्यु भएको र तीन बालबालिकासहित २० जना घाइते भएको राज्य आपतकालीन सेवाले जनाएको छ ।
राजधानी किएभमा ब्यालिस्टिक मिसाइलबाट भएको हमलामा दुई जनाको मृत्यु भएको नगर सैन्य प्रशासनले जनाएको छ । पोडिल्स्की जिल्लाको गैरआवासीय भवन र डार्नित्स्की जिल्लाको ग्यारेज परिसरमा आगलागी भएको तथा अन्य क्षेत्रमा भग्नावशेष खसेको प्रशासनले जनाएको छ ।
किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोका अनुसार किएभ र आसपासका क्षेत्रमा ड्रोन तथा ब्यालिस्टिक मिसाइलबाट संयुक्त हमला भएको थियो । ओबुखिभ जिल्लामा तीन उत्पादन तथा भण्डारण सुविधामा क्षति पुगेको उनले बताए ।
पोल्टाभा क्षेत्रको क्रेमेनचुकमा भएको हमलामा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले भने युक्रेनभरि मिसाइल तथा ड्रोन उत्पादन र भण्डारणमा संलग्न औद्योगिक संरचनालाई लक्षित गरी रातभर ठूलो हमला गरिएको दाबी गरेको छ । एसोसिएटेड प्रेसले उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । मन्त्रालयका अनुसार किएभसहित चेर्निहिभ, किरोभोहराद, ड्निप्रोपेत्रोभ्स्क, पोल्टाभा, खार्किभ र ओडेसा क्षेत्रका विभिन्न संरचना पनि हमलाको निशानामा परेका छन् ।
